पाकिस्तानी प्रधानमन्त्री खान विरुद्ध अविश्वासको प्रस्ताव पेस

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ।

खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा दर्ता भएको छ। अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १०० सांसदहरुले हस्ताक्षर गरेका छन्।

अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको खानमाथि आरोप लाग्दै आएको छ। सन् २०१८ मा सत्ता सम्हालेपछि उहाँले यस्तो चुनौती सामना गर्दै आउनुभएको छ । ६९ वर्षीय खानले गठबन्धन सरकारको नेतृत्व गर्नुभएको छ ।

गठबन्धनमा उहाँलाई समर्थन दिएका केही दलहरुले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेमा खान पदमुक्त हुनुहुनेछ । उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुअघि पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले नेतृत्व गरेको विपक्षीहरुको र्‍यालीमा हजारौं सहभागीले उहाँविरुद्ध नाराबाजी गरेका थिए।

त्यसले पाकिस्तानमा राजनीतिक उथलपुथलको सम्भावनालाई संकेत गरेको थियो। ‘२४ घन्टामा राजीनामा दिएर चुनाव सामना गर’, पीपीपी नेता बिलवाल भुट्टो जर्दारीले प्रधानमन्त्री खानलाई लक्षित गर्दै भन्नुुभएको थियो, ‘वा अविश्वासको प्रस्तावका लागि तयार होऊ।’

यस्तै, ३ सय ४२ सदस्य भएको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १ सय ७२ मत आवश्यक पर्छ। तर, विपक्षीले त्योभन्दा बढी मत खानको विरुद्धमा रहेको दाबी गरेका छन्।

‘हामीसँग १ सय ७२ भन्दा बढी मत हुनेछ’, पूर्वराष्ट्रपति तथा पीपीपीका नेता जर्दारीले भन्नुभयो ।

Back to top button