सत्ता गठबन्धनमा निर्वाचनमा मिलेर जाने सहमति भइसक्यो : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दावी गर्नुभएको छ ।

काठमाडौंमा आज सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमति भएको बताउनुभएको हो ।

सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उहाँले आह्वानसमेत गर्नुभयो ।

‘निर्वाचनमा पनि हामी मिलेर जान्छौं, सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुपर्‍यो, ठीक मूल्यांकन गर्नुपर्‍यो, अरु पार्टीहरुको शक्ति कति छ, त्यसको पनि जानकारी हुनुपर्‍यो, त्यसको मूल्यांकन गर्नुपर्‍यो’, उहाँले भन्नुभयो, ‘त्यसपछि पारिस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने कुराको पनि सही विश्लेषण हुनुपर्‍यो, हामीले सिटको तालमेलका लागि उपयुक्त निर्णय गर्नुपर्‍यो, यसका लागि सिंगो पार्टी पंक्ति अब परिचालित हुनेछ।’

उहाँले ७७ वटै जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा पार्टीको उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताउनुभयो । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उहाँको भनाइ छ।

नेता नेपालले सत्ता गठबन्धन तोड्नका लागि भयकंर षड्यन्त्र भएको दावी गर्नुभयो। तर त्यो षड्यन्त्रलाई विफल पार्न आफूहरु सफल भएको उहाँको भनाइ थियो। एमालेप्रति संकेत गर्दै उहाँले आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘कतिपयलाई भ्रम छ कि हामी शक्तिशाली छौं भन्ने। तर, त्यो भ्रम समयक्रममा प्रस्ट हुनेछ। उनीहरुले भ्रममात्रै पालेको हो भन्ने कुरालाई हामीले व्यवहारबाट पुष्टि गर्नु पर्दछ’, उहाँले भन्नुभयो।

Back to top button