एभरेष्ट ईन्टर हाउस फुटबल प्रतियोगिता शुरु, आज कोशी र गण्डकी विजयी

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको आयोजनामा आजदेखि ‘ईन्टर हाउस’ फुटबल टुर्नामेन्ट– २०७८ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज भएका खेलमा कोशी र गण्डकी हाउस विजयी भएका छन् ।

बिचको प्रतियोगिता अन्तर्गत आज पहिलो दिन कक्षा ३, ४ र ५ का खेलाडीहरुको चारवटा हाउसबिच प्रतिष्पर्धा भएको हो । पहिलो खेलमा मेची हाउसलाई पराजित गर्दै कोशी विजयी भएको हो । कोशीले मेचीलाई १ का विरुद्ध ३ गोल गरेको हो । उक्त खेलको म्यान अफ द म्याच कक्षा ४ का आयुष चौधरी घोषित भए ।

यस्तै आजै सम्पन्न दोस्रो खेलमा कर्णालीलाई पराजित गर्दै गण्डकी विजयी भएको छ । गण्डकीले कर्णालीलाई ५– १ को फराकिलो अन्तरले पराजित गरेको हो । यस खेलमा ह्याट्रिक गोल गर्ने कक्षा ५ का सक्षम पाण्डे घोषित भए । आजका खेलका म्यान अफ द म्याचलाई विद्यालयका प्राथमिक तह ईन्चार्ज सुनिलकुमार शाहीले ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालयका सह–प्राचार्य टीएन भण्डारीले रेफ्रि चेतन सुवेदीलाई बल हस्तान्तरण गरी शुरु भएको प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने विद्यालयका अतिरिक्त कृयाकलाप ईन्चार्ज राजन भट्टराईले बताउनुभयो । उहाँका अनुशार कक्षा ३ देखि ५, कक्षा ६ र ७ तथा कक्षा ८ र ९ का चार चार हाउसका बिच प्रतिष्पर्धा हुने छ ।

Back to top button