सिक्किमको रेडपाण्डालाई हराउँदै झापा–११ सेमिफाइनल प्रवेश

बिर्तामोड । घरेलु टोली झापा­–११ फुटबल क्लब जारी पाँचौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा­–११ लाई एक गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो । झापा­–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो ।

खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे । ५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरे ।

झापाकालागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशाल राई बीले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्स भएको बललाई पोस्टको दिशा दिए । ७७ औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे ।

सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे । तर, ६०औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पञ्च गर्दै बचाए । खेलको ८९ औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्‍याए । मैदानको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भयो ।

खेलको ८४औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । सिक्किमका कुनेमान थापाले खेलको १६ औँ मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो ।

आजको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । योसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलको समीकरणका खेल पूरा भएका छन् ।

जीतसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । भोलीको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

Back to top button