मादी दुर्घटनाः मृतकका परिवारलाई एक लाख दिने मन्त्रीको घोष्णा, कानूनै छैन सचिव

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बिहीवार संखुवासभाको मादी(६ मा भएको बस दुर्घटनामा परेकालाई आर्थिक सहयोग गर्ने बताउनु भयो । । तर, मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले भने उक्त दुर्घटनामा मृत्यु भएकाका परिवारलाई कुनै पनि आर्थिक सहायता उपलब्ध गराउन नसकिने बताउनु भएको छ।

आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी कानून नभएको उहाँको भनाइ छ । ‘गाडीको ‘थर्डपार्टी’ बीमा गरिएको होला,’ उहाँले भन्नुभयो ‘मृत्यु हुनेका परिवारले त्यो पाउनु हुन्छ, प्रदेश सरकारले अहिलेसम्म त्यस्तो कानून बनाएको छैन ।’

बिहीवार संखुवासभाको मादी–६ मा भएको दुर्घटनामा मृत्यु भएका प्रत्येकका परिवारलाई आर्थिक सहयोग स्वरुप १ लाख रूपैयाँ उपलब्ध गराउने मन्त्री कार्कीले घोषणा गरेका थिए ।

ओखलढुंगामा रहेका मन्त्री कार्कीले दुर्घटनाले प्रदेश सरकारलाई समेत स्तब्ध बनाएको बताउँदै मृतक १५ जनाको परिवारलाई आर्थिक सहयोग गर्ने बताउनु भएको थियो । दुर्घटनामा घाइते हुनु भएका सबै यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने उहाँको भनाइ थियो ।

झापाको दमकतर्फ गइरहेको बा ४ ख ७३५ नम्बरको यात्रुवाहक बस मादी सातघुम्ती मोडमा दुर्घटना हुँदा १५ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । घाइतेहरूको हाल बीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटनामा परी बस चालक तेह्रथुम फाक्चामाराका ३१ वर्षीय विपिन निरौला, सहचालक मादी–५ का उमेश भट्टराई, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, ४८ वर्षीय दीपककुमार दाहाल, ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–२ का ४२ वर्षीय इन्द्र अधिकारीको मृत्यु भएको छ ।

त्यस्तै मादी–६ की ३२ वर्षीया अञ्जना कटुवाल ३० वर्षीया सीता विक, मादी–४ की २८ वर्षीया सविता कार्की, मादी–६ की ५ वर्षीया दीक्षा कट्वाल, मादी–४ का आइतबहादुर तामाङ, ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन, ८ वर्षीय सुदीप घिसिङ र २७ वर्षीया युका पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा मादी–६ का ५० वर्षीय डम्बरबहादुर कार्की, मादी–४ की २४ वर्षीया करिश्मा तामाङ, मादी–६ की २२ वर्षीया तुलसा कट्वाल र मादी–४ का २४ वर्षीय सुवास तामाङ घाइते हुनु भएको थियो ।

Back to top button