धनुषा कांग्रेसको सभापतिमा योगेन्द्र पजियार विजयी

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी हुनु भएको छ । शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार विजयी हुनु भएको हो । पजियार नेता विमलेन्द्र निधि निकटका हुनुहुन्छ ।

दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेकोमा योगेन्द्रले १ हजार ७३५ मत पाउनु भएको थियो भने उहाँ निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत ल्याउनु भएको थियो ।

३३ मत भने बदर भएको छ । धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६३४, क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको थियो ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबभन्दा धेरै मत पजियारले नै ल्याउनु भएको थियो। । उहाँको पक्षमा ५१ मत पुग्न नसक्दा दोश्रो चरणको मतदान भएको थियो ।

कुल ३ हजार १७३ मतदातामध्ये पहिलो चरणमा २ हजार ९१२ जनाले मतदान गरेका थिए । पजियारले १ हजार २४८ मत पाउनु भएको थियो भने संतोषले ८८२ र दिनेश प्रसाद प्रसैलाले ६३० मत पाउनु भएको थियो । त्यस्तै, १५१ वटा मत बदर भएको थियो ।

Back to top button