डेढ वर्षीया बालिका बलात्कार र हत्या प्रकरण : गाँजा खाएर बनाएका थिए दाजुभाईले योजना

विराटनगर । मोरङको सुन्दरहरैँचा–७ मा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दाजुभाइलाई प्रहरीले सार्वजनिक गरेको छ ।

अपहरण शैलीमा घरबाट बालिकालाई झाडीमा लगेर बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय मिथुन र २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा खेल्दै गरेकी बालिकालाई १० रूपैयाँ दिएर फकाएर लगेर बलात्कारपछि हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार अजयले ती बालिकालाई घरदेखि करीब १०० मिटर पर खोला किनारको झाडीमा लगेका थिए । अजय मिथुन सरोदार दाजुभाई हुन । मिथुन दाजु हुन भने अजय भाई हुन। अजयले करणी गर्दा बालिका धेरै चिच्याएपछि बियरको बोतल र ढुंगाले टाउकोमा हानेको जिसीको भनाइ छ ।

बलात्कारपछि बालिकालाई त्यहीँ छाडेर एक भट्टी पसलमा गएर रक्सी खाएको प्रहरीको भनाइ छ । ​अजयका दुईवटी श्रीमती छन् भने मिथुन अविवाहित हुन् ।

‘दाजुभाइले पालैपालो बलात्कार गरेछन्,’ एसपी जिसीले भन्नुभयो, ‘पहिला भाइ अजय र पछि दाजु मिथुनले बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।’

बलात्कार गर्नुअघि उनीहरूले केरा बगानमा गाँजा खाएर योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘खोलामा बालुवा चालिरहेका मिथुन र भाइ अजयबीच भेट भएछ,’ उहाँले भन्नुभयो , ‘केरा बगानमा गाँजा खाँदै योजना बनाएछन्, त्यसपछि अजयले बालिकालाई ल्याएका रहेछन् ।’

मृतक बालिका र पक्राउ पर्ने दाजुभाइको घर करीब ३०० मिटरको फरकमा छ । उनीहरूलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । घटनाको प्रमाण नष्ट गर्न मिथुनले ढुंगा केही पर फालेका थिए ।

बालिका शुक्रवार साँझ ५ बजे तिर घरबाट हराएकी थिइन् । परिवारले खोज्दा ६ः३० बजेतिर नजिकैको झाडीमा बालिका चिच्याइरहेको अवस्थामा फेला पारेका थिए । उनको शुक्रवार मध्यरातमा विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पक्राउ परेका दाजुभाइलाई प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । आरोपी अजय गत मंसिरमा जेलबाट छुटेको प्रहरीले जनाएको छ ।

दुई वर्षअघि दुई वर्षीया बालिकालाई बलात्कार गर्न अपहरण गरेर ल्याउँदै गर्दा स्थानीयले थाहा पाएपछि नियन्त्रणमा लिएर बुझाएका थिए । पीडित बालिकाका आफन्तले बयान फेरेपछि उहाँलाई अदालतले रिहाइ गरेको थियो ।

Back to top button