अलपत्र नेपालीको उद्धारका लागि श्रममन्त्री श्रेष्ठ आज युएई जाँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज युएई, सेसेल्स र कतारको भ्रमणमा जाँदैछ ।

नेपाल–युएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीको समस्या समाधानका लागि टोली युएई जान लागेको हो।

टोली नौदिने भ्रमणमा आज दिउँसोको ३ बजे जान लागेको हो। भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का हुनुहुन्छ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठले भोलि भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संशाधनमन्त्री डा. अब्दुल रहमान अल अवारसँग छलफल गर्नुहुनेछ ।

भोलि नै नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ। बुधबार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नुका साथै दुबईमा सरकारमातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरूमा भ्रमण गर्ने कार्यक्रम छ।

सोही दिन उहाँले दुबईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरूसँग अन्तरक्रिया गर्नुुहुनेछ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सेसेल्स प्रस्थान गर्नेछ।

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरू लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरूबारे त्यहाँका उच्च अधिकारीहरूसँग छलफल हुनेछ। भ्रमण टोली आइतबार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नवीकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते स्वदेश फर्कने कार्यक्रम छ।

Back to top button