प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्‍वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्‍बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने बताउनुभयो।

उहाँले यो सूचना सर्वसाधारणलगायत सबै सरोकारवालाहरूलाई जारी गरिने बताउनुभयो।

समिति सभापति कर्णले भन्नुभयो, ‘आज सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्‍बाट विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएर आएको छ। त्यसको लागि आज प्रथम बैठक बसेको हो। प्रथम बैठकमा हामीले संसदीय सुनुवाईको कार्यविधिअनुसार १० दिनको सूचना हामीले जारी गर्नुपर्छ। जनरल पब्लिकलगायत सबै सरोकारवालाहरुसँग त्यो सूचना जारी गर्ने आज हामीले निर्णय गर्‍यौँ। भोलिदेखि सूचना जान्छ। र १० दिनभित्रमा यो आएपछि हामी बसेर सुनुवाइको काम प्रारम्भ गर्नेछौँ।’

सभापति कर्णले भोलिबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरूमा जाने बताउनुभयो।

Back to top button