शिक्षादीप कलेजलाई राष्ट्रिय शिक्षा सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज राष्ट्रिय शिक्षा सम्मान–२०७८ बाट विभूषित भएको छ । हालै काठमाण्डौमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गर्नुभएको हो ।

नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको, पर्याप्त भौतिक पूर्वाधार भएको, धेरै विद्यार्थीहरु अध्ययन गर्ने, विगतको पढाइको परिणाम, अनुभवी शिक्षकहरुबाट अध्यापन गरी समयानुकुल प्रतिष्पर्धात्मक शिक्षा प्रदान गरेको आधारमा शिक्षादीप कलेज छनौटमा परेको आयोजक संस्थाले जानकारी दिएको छ ।

देशभरिका कलेजहरुलाई उक्त आधारमा मूल्यांकन गर्दा शिक्षादीप कलेज छनौटमा पर्न सफल भएको कार्यक्रममा जानकारी दिइएको थियो । विराटनगरमा १३ वर्षअघि स्थापना भएको शिक्षादीप कलेजले निरन्तर उन्नति गर्दै आएको छ । हाल यस कलेजमा कक्षा ११ र १२ मा मात्र दुई हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रदेश १ र मधेश प्रदेशका सबै जिल्लालगायत अन्यत्रबाट पनि यस कलेजमा अध्ययनका लागि विद्यार्थीहर आउने गरेका छन् । अधिकांश विद्यार्थीहरुलाई विभिन्न प्रकारका छात्रवृत्तिहरु, आवधिक तथा अन्तिम परीक्षामा उत्कृष्ट भएका तथा मेधावी विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्ने गरिएको प्रिन्सिपल खड्काले बताउनु भयो । यस शैक्षिक सत्रमा मात्र शिक्षादीपले ७० लाख रुपैयाँको छात्रवृत्ति वितरण गरेको थियो ।

काठमाडौं उपत्यका बाहिरबाट पहिलो पटक कक्षा १२ मा नेपाल प्रथम भएको, पटक पटक पूर्व क्षेत्रमा सर्वाेत्कृष्ट हुँदै आएको शिक्षादीपले माध्यमिक तहको गुणस्तरीय शिक्षाका लागि काठमाडौं जान नपर्ने सन्देश प्रवाह गरेको छ । यहाँ कक्षा १२ सम्मको अध्ययन गरेका उल्लेख्य संख्याका विद्यार्थीहरुले हरेक वर्ष चिकित्सा विज्ञान, इन्जिनियरिङ, वाणिज्य र वित्तिय क्षेत्रका विषयहरु उच्च शिक्षामा अध्ययनका लागि प्रवेश पाउने गरेको बताइएको छ ।

शैक्षिक मात्र नभई सामाजिक सेवामा पनि कलेजले विविध क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । उक्त सम्मान तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा वर्तमान शिक्षा नीति र आगामी चुनौति विषयक अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा हालको शिक्षा नीतिको विश्लेषण गर्दै चुनौतिहरुलाई कसरी सामना गर्ने भन्ने सन्दर्भमा शिक्षा मन्त्री देवेन्द्र पौडेलसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङलगायतले आ–आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।

Back to top button