सरकार असफल भयो:मोरङ व्यापार संघ

विराटनगर । मोरङका व्यापारी व्यवसायीले सरकार असफल भएको बताएका छन् ।अर्थतन्त्र भयावह हुँदा समेत सरकार सचेत नभएको भन्दै व्यवसायीले सरकार नै असफल भएको प्रतिक्रिया दिएका छन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनालाई ज्ञापनपत्र बुझाउँदै व्यापार संघले संस्थागत निक्षेपमा अधिकतम् ६ प्रतिशत व्याजदर कायम गर्न माग गरेका छन् ।

बैंकहरूले जथाभावी व्याजदर बढाइदिएका कारण उद्योगधन्दा बन्द गर्ने अवस्थामा पुगिएको मोरङ ब्यापार संघको आरोप छ । ‘स्वदेशी उत्पादनहरू बन्द गर्ने अवस्थामा पुगेका छौं,’ मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भन्नुभयो, ‘सरकारले ठोस कदम नचाले आन्दोलन नै गर्छौं । लगानीका लागि बैंकबाट ऋण लिन, एलसी खोल्नमा बैंकले कडाइ गरेको छ ।’ गर्भनर समेत बैंककै पक्षमा लागेका संघको आरोप छ ।

२७ वटा बैंकले उद्योगी व्यापारीको घरजग्गा हडप्न खोजेको व्यवसायीको आरोप छ । बैंकलाई अहिलेको सरकार र गभर्नरले साथ दिएको बताइएको छ ।

अर्थतन्त्र धरासायी हुनु भनेको सरकार असफलताको बाटोमा गएको मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुको भनाइ रहेको छ । स्वदेशी उत्पादन प्रोत्साहन गर्ने नीतिको अभावका कारण उद्योग–व्यवसाय पुँजी अभावले धरासायी हुने सम्भावना बढेको उहाँको भनाई छ ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तालमेल नहुँदा अर्थतन्त्र नाजुक अवस्थामा पुगेको उद्योगी प्रकाश मुन्डाराले बताउनुभयो ।

हातमा कालोपट्टि बाँधेर जिल्ला प्रशासनमा पुगेका उद्योगी व्यवसायीले निक्षेपमा अधिकतम ६ प्रतिशत व्याजदर कायम हुने व्यवस्थापन गरी हालको तरलता अभावको समस्यालाई न्यूनीकरण गर्न सरकारसँग माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

Back to top button