झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ ।

सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो ।

आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गर्नुभएको थियो । फाइनल खेलको १८ औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाउनुभयो । अर्को गोल २१ औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्नु भएको थियो । मैदानको मध्यभागबाट पेनाल्टीएरियामा पाएको बललाई गोलरक्षक अघि बढेको मौकामा गोल गर्नुभएको थियो ।

३ मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो । उसले दोस्रो गोल खाएको ३ मिनेटमा एक गोल फर्कायो । झापाका विमल घर्तीमगरले हेडमार्फत गोल गर्नुभयो ।

फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी हुनु भएको छ। उहाँले ९ हजार ९९९ रुपैयाँ पुरस्कार प्राप्त गर्नु भएको छ । प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ हुनुभयो । उहाँले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाउनुभयो । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गर्नुभयो । उहाँले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गर्नुभएको थियो । । प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित हुनुभयने । उहाँहरुले जनही २१ हजार रुपैयाँ पाउनु भएको छ ।

फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सातवटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । खेलमा भारतका मानेभञ्ज्याङ फुटबल क्लब, रेडपाण्डा फुटबल क्लब, घरेलु टोली झापा–११, आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबको सहभागिता थियो ।

झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गर्नुभयो ।

Back to top button