मादी दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई मादी नगरपालिकाले १ लाख दिने

विराटनगर । संखुवासभाको मादीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई मादी नगरपालिकाले १ लाख दिने निर्णय गरेको छ ।

कार्यपालिकाको बैठकबाट मृतकका परिवारलाई एक लाख र घाइतेहरूलाई ५० हजार दिने निर्णय गरेको मेयर विदुर कुमार लिंथेपले बताउनुभयो ।

दुर्घटनामा ज्यान गुमाउनेको नाममा स्मारक बनाउने निर्णय समेत गरिएको उहाँले बताउनु भयो ।

मादी नगरपालिका–६ स्थित सात घुम्तीमा फागुन २६ गते बिहीबार बिहान भएको बस दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने ४ जना घाइते भएका थिए । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस सात घुम्तीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा विपिन निरौला, उमेश भट्टराई,दीपक दाहाल, श्याम शेर्पा,भवानी दाहाल,इन्द्रबहादुर अधिकारी, दिक्षा कटवाल,अन्जना कटवाल,आइतबहादुर तामाङ,सबिता राउत कार्की, सीता विक,बलबहादुर कार्की, समिक्षा योन्जन, सुदीप घिसिङ, युका पोखरेलको निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

४ जना घाइते मध्ये दुई जना उपचार पछि घर फर्केका छन् भने दुई जनाको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

Back to top button