नागरिक बचतपत्रमा आवेदन खुल्यो, १० प्रतिशत ब्याज पाइने

काठमाडौं । विदेशमा रहेका नेपालीले समेत खरिद गर्न पाउने व्यवस्थासहित राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री खुला गरेको छ।

नागरिक बचतपत्रको आवदेन अनलाइनमार्फत गर्न सकिने व्यवस्था भएसँगै विदेशमा रहेका नागरिकले पनि उक्त बचतपत्र खरिद गर्न सक्ने छन्।

यसअघि आवश्यक कागजातसहित भौतिक रूपमा सम्बन्धित व्यक्ति बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले विदेशमा बस्ने नेपाली नागरिक बचतपत्र किन्नबाट वञ्चित थिए। आजदेखि आवेदन संकलन सुरु गरिएको नागरिक बचतपत्रमा चैत २० सम्म आवेदन दिन सकिन्छ। यद्यपि तोकिएको अवधिअघि नै कुल निष्कासित रकमका लागि आवेदन आए चैत २० अघि नै बन्द हुने राष्ट्र बैंकले बताएको छ।

पहिलो चरणमा २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि आवेदन संकलन सुरु गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ।

नागरिक बचतपत्र २०८३ ‘क’ नाम दिइएको उक्त बचतपत्रमा घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमभन्दा नबढाई १० हजार रुपैयाँले भाग निशेष जाने रकम लगानी गर्न सकिने सूचनामा उल्लेख छ । चैत ३० गते बचतपत्र निष्कासन गरिने राष्ट्र बैंकले जनाएको छ।

बचतपत्र परिपक्व हुने अवधि ५ वर्षको हुन्छ। यसमा लगानी गरेपछि वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ ।

आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा यो बचतपत्र धितो राखेर कर्जा लिन पनि सकिन्छ। उल्लिखित कारणले केही लामो समयसम्मका लागि लगानीका क्षेत्र खोजिरहेका नेपालीका लागि नागरिक बचतपत्र उपयुक्त औजार रहेको राष्ट्र बैंकको भनाइ छ।

Back to top button