मोरङका उद्योगी– व्यवसायी आन्दोलित

विराटनगर । नेपाल राष्ट्र बैंक विराटनगर प्रमुख मिना पाण्डेले ज्ञापनपत्र बुझ्न नमानेपछि मोरङका उद्योगी व्यवसायीहरु आन्दोलित बनेका छन् । आज राष्ट्र बैंकमा ज्ञापन पत्र बुझाउन गएका मोरङ ब्यापार संघका पदाधिकारी तथा उद्योगी–ब्यापारीहरु आन्दोलित भएका हुन ।

उद्योगी व्यवसायीले नारा–जुलुस गर्दै नेपाल राष्ट्र बैक विराटनगरको गेटमा धर्ना दिए । हातमा कालोपट्टि बाँधेर ‘स्वदेशी उद्योगी संरक्षण गर’, ‘अचाक्ली मंहगी नियन्त्रण गर’, ‘मंहगीको मार, सरकार बनौं जिम्मेवार’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित उनीहरु राष्ट्र बैंकमा पुगेका थिए ।

हातको कालोपट्टि र प्लेकार्ड राखेर मात्रै राष्ट्र बैंक भित्र प्रवेश गर्न दिने बैंक प्रशासनले बताएपछि आन्दोलित बनेका हुन् । अर्थतन्त्र भयावह हुँदा समेत सरकार सचेत नभएको भन्दै उनिहरुले हिजो मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनालाई ज्ञापनपत्र बुझाएका थिए ।

संस्थागत निक्षेपमा अधिकतम् ६ प्रतिशत व्याजदर कायम गर्नुपर्ने, लगानीका लागि बैंकबाट ऋण लिन, एलसी खोल्नमा बैंकले कडाई गर्नु नहुने, उद्योगी ब्यबसायीको ढाड सेक्ने गरी बैकले बढाएको ब्याजदर घटाउनुपर्ने लगायतका माग राख्दै उनिहरु आन्दोलित बनिरहेका छन् । उनिहरुले आईतवार अर्थमन्त्री जनार्दन शर्मा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

बैकहरुका कारण धेरै उद्योग धन्दा बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योगी ब्यवसायी सुकुम्वासी हुने अवस्था सिर्जना भएको मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले बताउनुभयो । उहाँले गभर्नर समेत बैंक कै पक्षमा लागेका कारण अर्थतन्त्र धारासायी बनेको आरोप लगाउनुभयो । २७ वटा बैंकले उद्योगी व्यापारीको घरजग्गा हडप्न खोजेको उहाँले आरोप लगाउनुभएको हो ।

Back to top button