यौन हिंसाविरुद्ध एम्स कलेजका विद्यार्थीको मौन प्रदर्शन

विराटनगर । बढ्दै गरेको यौन हिंसाका घटनाको विरोध गर्दै विराटनगर–९ स्थित एम्स कलेजका विद्यार्थीहरुले आज मौन प्रदर्शन गरेका छन् ।

देशमा भईरहेका नारी हिंसाका विरुद्ध विभिन्न नारा लेखिएका ‘प्ले कार्ड’ सहित उनीहरुले विराटनगर बजारका विभिन्न क्षेत्रमा प्रदर्शन गरेका हुन् । कलेज प्राङ्गणबाट शुरु भएको मौन ¥याली नगरपरिक्रमा पछि कलेज परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

‘सरकार देखाउ ईच्छा, खै त महिलाको सुरक्षा ?’, ‘मेरो कपडाको लम्बाईले मेरो चरित्रको बयान गर्दैन’, ‘कति चुप बस्ने, अब त नसहने’, ‘के बलात्कार समाचारको विषय मात्र हो ?’, ‘के महिलालाई आरक्षण दिदाँ मात्र महिला ?’, ‘अब शिक्षा छोरालाई’ जस्ता नारा उल्लेखित प्ले कार्ड बोकेका विद्यार्थीहरुले यौन हिंसाका घटनालाई रोक्न सरकार गम्भिर हुनुपर्नेमा माग राखेका छन् ।

प्रर्दशनमा विद्यार्थीसँगै क्याम्पस प्रमुख सि.एम. बस्नेत, को–ओर्डिनेटर सुरेन्द्र मण्डल, शिक्षक, शिक्षिका, कर्मचारीलगायतले साथ दिनुभएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै क्याम्पस प्रमुख बस्नेतले यस्ता प्रदर्शनले विद्यार्थीहरुमा चेतनाको विकास हुने, सँस्कार सिक्ने, सामाजिक उत्तरदायित्व बढ्ने मात्र नभई राज्यलाई समेत घच्घच्याउन मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

यस्तै कलेजकी छात्रा श्रेया सरकारले नारीको सम्मान नभएसम्म देशको भलो नहुने भन्दै सरकारसँग नारीहरुले डर र त्रासका बिच बाँच्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्नुभयो । ‘अब त अति भयो’, उहाँले भन्नुभयो, ‘नारीलाई न्याय चाहिएको छ सरकार ।’

Back to top button