जनकपुर–जयनगर रेल उद्घाटन मिति अझै टुङ्गो लागेन

जनकपुरधाम । एक महिनादेखि जनकपुर–जयनगर रेल ‘ड्रायरन’ गरिरहेको छ । दिनमा एकपटक जयनगरबाट कुर्थासम्म यात्रुविना रेल ओहोरदोहोर गरिरहेको छ । गत फागुन १ गतेदेखि उद्घाटन नहुँदै ‘ड्रायरन’ सुरु गरिएको थियो ।

‘ड्रायरन’ सफल भएपनि उद्घाटन मिति अझै टुङ्गो लाग्न नसकेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो । उहाँकाअनुसार कानुन अभावमा उद्घाटन तथा यात्रुसहित सञ्चालनको मिति तय हुन सकेको छैन ।

“प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,” उहाँले भन्नुभयो, “भाडादर पनि निर्धारण भइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको छैन ।”

विभागले फागुन दोस्रो साता नै दुवै देशको प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी गरेको थियो । तर कानुन अभावसँगै नेपालको राजनीतिक उतारचढाव र भारतको चुनावको कारण उद्घाटनमा ढिलाइ भएको उहाँको तर्क छ ।

गत मंसिर १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेलवे सञ्चालनसम्बन्धी अध्यादेशको प्रस्ताव ल्याउनु भएको थियो । ६० दिनभित्र अध्यादेश सम्बन्धित मन्त्रीले सदनमा पेस गरिसक्नु पर्ने कानुनी प्रावधान छ । तर, सो अवधिमा सदनमा रेलवे अध्यादेश पेस नभएपछि स्वतः निष्क्रिय भएको थियो ।

Back to top button