उद्योगी महेश जाजु महामूर्ख घोषित

विराटनगर । विराटनगरका उद्योगी महेश जाजु महामूर्ख घोषित हुनुभएको छ । मारवाडी युवा मञ्च विराटनगरले गएराति आयोजना गरेको महामुर्ख सम्मेलनमा उद्योगी जाजुलाई महामूर्खको उपाधि दिइएको हो ।

उहाँलाई भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओम प्रकाश सरावगीले तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी पहिर्‍याएर महामूर्ख घोषणा गर्नुभयो ।

टमाटर, लौका, प्याज, करेलालगायतका तरकारी जडित मालाले महामूर्ख जाजुलाई सम्मान गरियो । सामाजिक काममा अग्रसर हुनेलाई उक्त उपाधी दिने गरिएको छ ।

‘बर्षभरि को कति सामाजिक काममा खट्छ हामी मुल्याङ्कन गछौं,’ मारवाडी युवा मञ्चका उपाध्यक्ष मोहित लालवानीले भन्नुभयो,‘त्यसकै आधारमा महामूर्खको उपाधि दिन्छौ ।’

होलीमा विकृति घटाउन र मनोरञ्जन प्रदान गर्न होली महोत्सवको आयोजना गरी महामूर्ख घोषणा गर्ने गरिएको छ । यसअघि चम्पालाल राठि, मोहनलाल शर्मा, मोती दुगड, सुरेन्द्र गोल्छा, शंकरलाल अग्रवाल, नन्द किशोर राठी र दिनबन्धु गोयललगायतले यो उपाधि पाइसक्नुभएको छ ।

महामूर्ख सम्मेलनलाई हेर्न विभिन्न राजनितिक तथा सामाजिक क्षेत्रका अगुवाहरुको उपस्थिति रहेको थियो ।

Back to top button