माइतीघरको आकाशे पुल आज उद्घाटन

काठमाडौं । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुलको उद्घाटन गर्नुभएको छ ।

आज आकाशेपुलको उद्घाटन गर्दै उहाँले आकाशे पुल निर्माण अभियानअन्तर्गत हरेक वर्ष महानगरले ८–९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताउनुभयो । उहाँले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताउनुभयो।

उहाँले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको स्मरण गराउनुभयो ।

‘आकाशे पुल निर्माण अभियानअन्तर्गत हरेक वर्ष हामीले ८–९ करोड रूपैयाँ बजेट विनियोजन गरेका छौँ। आवश्यक ठाउँ पहिचान गरेर आकाशे पुल निर्माण गर्ने काम भइरहेको छ‚’ उहाँले भन्नुभयो‚ ‘नीति पनि छ, कार्यक्रम पनि छ। बजेट पनि छ। तर सडकपेटी साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ।’

उहाँले माइतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरुका लागि सहज बनाउने विश्वास पनि व्यक्त गर्नुभयो।

Back to top button