आईओसीले पेट्रोलीयम पदार्थको नयाँ मूल्य सूचि पठायो, मूल्य अझै बढ्नसक्ने

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।

आइओसीबाट आज प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ।

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १ सय ६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर १ सय १३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १ सय ३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर १ सय १४ रुपैयाँ ५१ पैसा र एलपी ग्याँस प्रतिसिलिण्डर २ हजार २ सय ४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ। पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै रु १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ।

निगमलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट रु ५ अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ। सो अवधिमा पेट्रोलको बिक्रीबाट रु १ अर्ब ७ करोड ९८ लाख, डिजेलको बिक्रीबाट ३ अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट रु १ अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभएको छ ।

निगमलाई मट्टीतेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ। १५ दिनमा मट्टीतेलको बिक्रीबाट १ करोड ५० लाख, हवाई इन्धन (आन्तरिक)बाट १ करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय)बाट १७ करोड ५३ लाख रुपैयाँ नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ।

आइओसीबाट आज प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमले जनाएको छ ।

मट्टीतेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक)मा ४ रुपैयाँ ६ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ।

१५ दिनमा पेट्रोल ३२ हजार ९ सय १५ किलोलिटर, डिजेल ८६ हजार ९ सय १० किलोलिटर, मट्टीतेल ७ सय ७० किलोलिटर, हवाई इन्धन (आन्तरिक) २ हजार ७ सय ७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) ४ हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सिलिण्डर खपत हुने निगमको आँकलन छ।

Back to top button