
काठमाडौं । नेकपा (एमाले) ले आगामी वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने भएको छ।
आज बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै तहमा तालमेल भएपनि एमाले पाँच दलीय गठबन्धनसँग एक्लै भिड्ने जानकारी गराएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
स्थानीय निर्वाचनमा ७० प्रतिशत सिट जित्ने दाबी गरेको एमालेले चुनावी घोषणापत्र र उम्मेदवार चयन चाँडै तय गर्ने तयारी गरेको छ।
भट्टराईका अनुसार अध्यक्ष ओलीले बैठकमा अहिले देशको अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै एमाले चुप लागेर नबस्ने बताउनुभएको थियो ।
पास हुँदैन भन्ने जान्दाजान्दै सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको भन्दै एमालेले त्यसको भण्डाफोर अभियान नै चलाउने भएको छ ।
‘त्यो ल्याउनुको दुराशय हो जसरी भए पनि अदालतलाई गिजोल्ने र अदालतलाई गुटबन्दीको सिकार बनाउने,’ ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, ‘अदालतलाई सधैँभरि अस्थिरतामा रुमल्याउन चाहने हो ।’
सत्ता गठबन्धनले महाभियोग प्रस्तावलाई जतिसक्यो ढिलो गर्ने र त्यसलाई पास वा फेल हुनका लागि कुनै अवसरै प्रदान नगर्ने गरी अगाडि बढेको ओलीको भनाइ थियो ।