खोटाङलाई हराउँदै सुनसरी बिजयी

भोजपुर । भोजपुर सदरमुकाममा जारी पाचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा राष्ट्रिय जागृती क्लब सुनसरी विजयी भएको छ ।

खोटाङको भगवती स्पोर्ट्स क्लबसँग भएको प्रतिस्पर्धामा सुनसरीले २–१ गोलको जित निकालेको हो । मार्टिनले खेलको ३०औँ मिनेटमा गोल गर्दै सुनसरीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३६औँ मिनेटमा शरद राईले गोल गरेपछि खेल बराबरीको अवस्थामा आयो । खेलको ६६औँ मिनेटमा कब्बु राईले गोल गरेपछि सुनसरी २–१ गोलले विजयी भएको हो । खेलको म्यान अफ द म्याच सुनसरीका पिटर भए ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताअन्तर्गत भोलीको तेस्रो खेल बसाहा क्लब उदयपुर र गोर्खा ब्वाइज रुपन्देहीबीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

हिजो भएको पहिलो खेलमा मोरङको सगरमाथा युथ क्लवलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको टिम विजयी भएको थियो ।

३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत, भोजपुर फुटबल क्लब, सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देही गरी आठ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

Back to top button