फागु पूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा होलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।

फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिले यही विविधताका बीचको एकता नै हामी नेपालीको पहिचान र सामर्थ्य बनेको तथा त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नु भएको हो ।

वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए पनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखररूपमा अभिव्यक्त गर्दछ, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व होलीले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।

‘हाम्रो संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्छ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सकेमात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ’ जारी सन्देशमा उल्लेख छ ।

समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने राष्ट्रपति भण्डारीको कामना छ ।

Back to top button