कांग्रेसको ब्यवहारले चुनावमा गठबन्धन हुने नहुने टुङ्गो लाग्छः प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको व्यवहारले आगामी चुनावमा सत्तारूढ दलबीच गठबन्धन हुने वा नहुने टुंगो लाग्ने बताउनुभएको छ ।

बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने बताउनुभयो ।

एमालेसँग पनि सहकार्य हुनसक्छ भन्ने जिज्ञासामा उहाँले तत्काल एमालेसँग सहमति हुने सम्भावना नदेखिएपनि कांग्रेसको व्यवहारमा पनि भर पर्ने बताउनुभयो ।

कांग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोलेको भन्दै उहाँले भन्नुभयो,‘यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन।’ उहाँले यो अवस्था कांग्रेस सभापतिको प्रतिबद्धताले तत्कालका लागि टरेको बताउनुभयो ।

उहाँले चुनावमा माओवादी सकेसम्म एक्लै र आफ्नै तागतले चुनाव जित्ने प्रयत्नमा रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक रुपमा सुसूचित र आर्थिक रुपमा जनतालाई सम्पन्न बनाउने पार्टीको एजेण्डालाई मुख्य ध्यानमा राखेर आफ्नै तागतमा निर्वाचन अभियानमा होमिन हामीले नेता कार्यकर्तालाई निर्देशित गरेका छौं।’

प्रचण्डले तालमेल गर्ने विषयमा गठबन्धनको मुख्य नेतृत्वमा कुनै अलमल नदेखिएको भन्दै गठबन्धन संविधानको रक्षा, प्रतिगमनका विरुद्ध संघर्ष गर्न बनाइएको र त्यो उद्देश्य पूरा गर्ने काम अझै बाँकी रहेको बताउनुभयो ।

प्रचण्डले एमसीसीका कारण नयाँ गठबनधन बन्छ कि जस्तो देखिएपछि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन गरिएको र हालका लागि गठबन्धन सुरक्षित रहेको बताउनुभयो । प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने भ्रम हटेको भन्दै तोकिएको समयमा नै चुनाव हुने बताउनुभयो ।

बिहानमात्रै प्रधानमन्त्री, माधव नेपाल र आफ्नो छलफल भएको सुनाउँदै उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले ढुक्क भएर चुनावी तयारी गर्नुस् भन्ने खालको कुरा गर्नुभएको छ, म पनि त्यसमा कुनै कन्फ्युजनमा नरहन सबैलाई आग्रह गर्दछु।’

Back to top button