
काठमाडौं । उत्तरी जापानको फुकुसिमा तटीय क्षेत्रमा गएराति गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४ जनाको मृत्यु हुनुका साथै सयजनाभन्दा बढी घाइते भएका छन्।
जापानका प्रधानमन्त्री फुमियो किसिदाले आज बिहान संसद्को बैठकमा भूकम्पमा परी ४ जनाको ज्यान गएको र ९७ जना घाइते भएको जानकारी दिनुभएको छ ।
स्थानीय समयअनुसार राति ११ः३६ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु समुद्रको ६० किलोमिटर गहिराइमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ।
यो क्षेत्र उत्तरी जापानको भाग हो। सन् २०११ मा पनि यो क्षेत्रमा नौ म्याग्निच्युडको भूकम्प गएको थियो र भूकम्पपछि आएको सुनामीले ध्वस्त पारेको थियो। भूकम्पका कारण आणविक प्रकोप पनि परेको थियो।