सुगम जिल्लाका बासिन्दाको पिडा : होली खेलेपछि केले पखाल्ने रङ

विराटनगर । तराईका जिल्लामा होलीको रौनक चलिरहेको छ । तराईमै पर्ने मोरङको केराबारी–१ पाटीगाउँका स्थानीय वासिन्दालाई होलीले खासै छुँदैन । कारण एउटै छ शरीरमा लागेको रंग पखाल्ने पानीको अभाव छ ।

स्थानीयले होली खेल्नुअघि लुगा र शरीर सफा गर्ने पानी छ छैन भनेर सोच्नु पर्छ । सबैतिर चाडपर्वको रौनक बढिरहँदा आकाश धमिलो छ÷छैन भनेर हेर्ने गरेको मनकुमारी राईले बताउनु भयो । चाडपर्व समेत राम्ररी मनाउन नपाउँदा स्थानीयहरू नेताले गरेका वाचा उनि सम्झछन् ।

चुनावैपिच्छे ‘घरघरमा पानी’ पुर्‍याउने नारा सुन्ने गरेका स्थानीयका लागि फेरि त्यहीँ वाचा सुन्न पनि अब धेरै दिन बाँकी छैन, किनकि स्थानीय चुनाव आउँदैछ तर पानी अझै आएको छैन । स्थानीयकै भोटले जितेर नेताहरू मेयर, उपमेयर, सांसद हुँदै मन्त्रीसम्म बनेका छन् तर मतदाताको पीडा उस्तै छ ।

खाद्यान्नजस्तै खानेपानीको जोहो गरेर जीवन बिताउनुपरेको संगीता राई बताउँनुहुन्छ । ‘असारदेखि भदौ–असोजसम्म प्रशस्त मनसुनी वर्षा हुने गर्छ । त्यही मनसुनी वर्षाको पानी संकलन गरेर प्रयोग गर्छौं,’ उहाँले भन्नुभयो, ‘आकाशबाट परेको पानी कोक, फेन्टा, पेप्सी लगायतका प्लास्टिकका बोतलमा संकलन गरेर पछि प्रयोग गर्छौं ।’

१ नम्बर वडाको माथिल्लो टोलमा पानीको धेरै समस्या छ । २०० भन्दा बढी परिवारले खानेपानीको समस्या भोग्दै आएका छन् ।

‘आकाशे पानीको भरले मात्रै थेग्न नसक्ने अवस्था बनेपछि ट्रयाक्टरलाई पैसा दिएर पानी ल्याउनुपर्छ । प्रतिलिटर ३ रुपैयाँ तिरेर गाउँभन्दा तलबाट कुवाको पानी ल्याएर खाने गरेका छौं,’ वडा सचिव मिकल राईले भन्नुभयो ।

गाउँभन्दा मुनि पानीको मुहान भएका कारण जनताले समस्या भोग्नुपरेको वडाध्यक्ष चन्द्रसिंह लिम्बुलेबताउनु भयो । ‘काली दह र टुकटुक दह गाउँभन्दा धेरै तल छ,’ उहाँले भन्नुभयो , ‘घरघरमा धारा पुर्‍याउनका लागि काम थालिएको छ । लिफ्टिङ गरेर पानी माथिल्लो गाउँमा लैजानका लागि काम भइरहेको छ ।’

उपाध्यक्षको सहयोगले राहत

साविकको केराबारी, यांसिला, पाटी र सिंहदेवी मिलेर केराबारी गाउँपालिका बनेको हो । गत स्थानीय तह चुनावमा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट रोहितबहादुर कार्की र उपाध्यक्षमा नेकपा एमालेका तर्फबाट शान्ति भुजेल निर्वाचित हुनु भएको थियो ।

निर्वाचित भएपछि योजनाको अनुगमनको सिलसिलामा उपाध्यक्ष भुजेल पाटी गाउँ पुग्नुभयो । ‘योजना अनुगमन गर्न जाँदा प्लास्टिकका बोतलमा पानी हालेको देखेपछि मैले चासो दिएर सोधें,’ उहाँले भन्नुभयो , ‘त्यसपछि मात्रै पानीको चरम अभाव रहेछ भन्ने कुरा थाहा पाएँ ।’

स्थानीय महिला दिदीबहिनीको पीडा सुनेपछि विभिन्न तालिम र भ्रमणका लागि छुट्याएको बजेट काटेर गाउँमा ‘हिल ट्यांक’ किनिदिएको उहाँले बताउनु भयो । । ‘हिल ट्यांक’ भएपछि केही सहज भएको मनकुमारीले बताइनउनु भयो ।

यहि वर्ष भित्रमा पानीको दुख हट्छ मन्त्री घिमिरे

साविकको पाटी गाउँ हालको केराबारी गाउँपालिका १० वर्षे जनयुद्धको समयमा माओवादीको ‘सेल्टर एरिया’ थियो । माओवादीका अध्यक्ष प्रचण्डदेखि थुप्रै नेताहरू गाउँमा आउने गरेका थिए । द्वन्द्वको समयमा ‘सेल्टर’ बनाएर बस्नेहरू नै सत्तामा पुग्दा समेत गाउँका जनताले पेटभरि पानी खान पाएका छैनन् ।

मोरङको १ नम्बर निर्वाचन क्षेत्रमा गर्ने पाटी गाउँका बहालवाला प्रतिनिधिसभा सांसद एमालेका घनश्याम खतिवडाले समेत समस्या समाधानमा खासै चासो देखाउनु भएकोृ छैन । आफैं मन्त्री नभए पनि उहाँको पार्टी सरकारमा हुँदा समेत चासो नदेखाएको भन्दै स्थानिय चिन्तीत छन ।

प्रदेशमा पाटी गाउँकै जनताले दिएको मतका कारण प्रदेश सांसद बनेका उपेन्द्र घिमिरे मन्त्री नै बन्नुभयो । यातायात तथा सञ्चारमन्त्री भएका घिमिरेले खानेपानी सबडिभिजनमार्फत गाउँको पुच्छर भागसम्म पानी पुर्‍याइसकिएको बताउनु भयो । ‘गाउँको सिरानमा ट्यांकी समेत निर्माण भइसकेकाले अब लिफ्टिङ गरेर चाँडै पानी पुर्‍याइने छ,’ उहाँले भन्नुभयो ।

पानी तताएर मात्रै खान चिकित्सकको सुझाव

चिकित्सकहरूले आकाशबाट झरेको पानी सोझै नखान स्थानीयलाई सुझाव दिएका छन् । आकाशबाट झरेको पानी खाँदा धेरै समस्या उत्पन्न हुने कोशी अस्पतालका डा. रोशन खड्का बताउँनु हुनछ । झाडापखाला, वान्ता हुने, टाइफाइट हुने जस्ता रोगहरू लाग्न सक्ने उहाँले बताउनु भयो । प्लास्टिकको बोतलमै कीटाणु हुनसक्ने भएकाले पानी उमालेर मात्रै खान खड्काले सुझाव दिनुभयो

आकाशबाट धुलोधुवा तथा कीटाणुहरू मिसिएको पानी पर्ने भएकाले नतताई खाँदा छिट्टै बिरामी बनाउन सक्ने उहाँले बताउनु भयो ।

Back to top button