
विराटनगर । होलीमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा मोरङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
हिजो मोरङको ग्रामथान गाउँपालिका–१ लखनतरीमा पूर्वबाट पश्चिम गइरहेको को २५ प ८५५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उपचारका लागि विराट मेडिकल कलेज पुर्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता मन्जिल मुकारूङले बताउनुभयो ।
यसैबीच हिजो ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १३ वटा सवारीसाधनका चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले कारवाही गरेको छ। अधिकांश मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण कारवाही परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काका अनुसार मापसे गरि चलाइएका ४ सय ७ वटा मोटरसाईकल, २ वटा कार, ४ वटा सिटी सफारी र १ वटा ट्रकलाई कारवाही गरिएको हो । कारवाही परेका सवारी साधनका धनीलाई ट्राफिक नियमबारे जानकारी गराउँदै जरिवाना गरेर छाडिने जनाइएको छ।
यस्तै मापसे गरी शान्ति सुरक्षामा खलल पारेको आरोपमा ७ जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दा अघि बढाएको प्रहरीले जनाएको छ ।