
काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले अब छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ।
सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो।
उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए। तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निर्णय फिर्ता लिइएको बताएका छन्।
आलोचना, आग्रह र दबाबका कारण महिला अधिकारको पुनर्बहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्रसङ्घले धन्यवाद ज्ञापन गरेको छ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्न दिने तालिवान सरकारको निर्णयको स्वागत गर्नुभएको हो ।
अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णय सुनेर आफू हर्षित भएको उहाँले शुक्रबार उल्लेख गर्नुभएको छ ।
तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने अधिकारीले जनाएका छन्।
तालिवान सरकारको यस निर्णयलाई महासचिव गुटेर्रेसले ‘महत्वपूर्ण र स्वागतयोग्य’ भन्नुभएको छ ।
छात्रसँगै छात्रालाई पनि शिक्षाको अधिकार दिएपछि उनीहरुको अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने उहाँले अपेक्षा व्यक्त गर्नुभएको छ ।
बालिकालाई पढ्न दिने तालिवान सरकारको निर्णयको अन्य अन्तर्राष्ट्रिय निकाय तथा मानव अधिकारवादी संघसंगठनले पनि स्वागत गरेका छन्।