प्राधिकरणको बक्यौता नतिरेका कारण सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी गरेको छ । अहिले सञ्चालनमा नरहेका तर बक्यौता फरफारक गर्न बाँकी रहेका सात कम्पनीलाई प्राधिकरणले सात दिनको समयावधि दिएर प्राधिकरणको रकम तिर्न ताकेता गरेको छ ।

सो कम्पनीहरुमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यी कम्पनीहरु अहिले सञ्चालनमा भने छैनन् । आज एक सूचना निकाल्दै प्राधिकरणले यस्तो ताकेता गरेको छ । प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुन अनुसार सञ्चालकहरुको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ ।

यसबाहेक विमानस्थल सेवा शुल्क नियमावली अनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने गरी कारबाही हुन सक्ने प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणले ती कम्पनीहरुलाई तोकिएको अवधिमा बक्यौता नतिरेमा कालोसूचीमा समेत राख्ने भएको छ । प्राधिकरणले यी कम्पनीहरुविरुद्ध यसअघि समेत सूचना निकालेर ताकेता गरिसकेको छ ।

कुन कम्पनीको कति बक्यौता ?

नेकोन एयर: ४ करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ
शिवानी एयर: ५५ लाख ५१ हजार ५३ रुपैयाँ
गोरखा एयर: २० लाख ३५ हजार २९ रुपैयाँ
माउण्टेन एयर: ६ लाख १० हजार ८३४ रुपैयाँ
कस्मिक एयर: ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ
स्काइलाइन एयरवेज: ७ लाख ८० हजार ४०० रुपैयाँ
एयर काष्ठमण्डप: ७ लाख ३८ हजार ४४७ रुपैयाँ

Back to top button