शेयर बजारमा १४ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।

आज नेप्से परिसूचकमा १४ दशमलव ६७ अंकले घटेर २ हजार ६१६ दशमलव ५८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३ दशमलव ०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ८१ अंकले गिरावट आएको छ।

आज कारोबारमा आएका २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको छ। पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकममा समेत निरन्तर रुपमा गिरावट आएको छ।

नेप्सेका १३ उपसमूहमध्ये एउटा उपसमूहको सूचक बढेको छ भने बाँकी १२ उपसमूहको सूचकमा गिरावट आएको छ। जसमा लगानी उपसमूहको मात्रै १ दशमलव ६६ प्रतिशतले सूचक बढेको छ। तर होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १ दशमलव ९६ प्रतिशतले गिरावट आएको छ।

त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।

आज नेप्से परिसूचक गिरावट आए पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी र विशाल बजार कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा १६ करोड २९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Back to top button