प्रहरी जवानको मृत्यु भएपछि मोरङको लेटाङमा अनिश्चितकालीन कर्फ्यू

विराटनगर । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ सहित आसपासका क्षेत्रमा सोमवार बिहानदेखि कर्फ्यू घोषणा गरिएको छ ।

लेटाङ नगरपालिकाका वडा नम्बर ५ को सबै क्षेत्र, ३ नम्बर वडाको गंगे चोक, ४ नम्बरको कमलपुर चोक र ६ नम्बरको वडा कार्यालय भएको क्षेत्रलाई सम्बेदनशील क्षेत्र मानेर अर्कोे निर्णय नभएसम्मलाई कर्फ्यू घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी काषिराज दाहालले बताउनु भयो ।

उत्तरमा मोरङी खोला र दक्षिणमा चिस्याङ खोला क्षेत्र भित्र पनि कर्फ्यू घोषणा गरिएको छ ।

कर्फ्यू बिहान ७ बजेदेखि जारी हुनेछ ।

शिक्षकले आफ्नै विद्यार्थी माथि यौन दुव्र्यवहार गरेको आरोपमा स्थानीय र प्रहरीबीच झडप हुँदा एक प्रहरी जवानको ज्यान गएको छ ।

प्रहरी जवान उर्मिला श्रेष्ठलाई झडपमा आन्दोलनकारी खुकुरी प्रहर गरेका थिए ।

कोशी अस्पतालमा उपचारका लागि ल्याए पनि आइतवार राति १०ः५० बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका एसपी नविन राईले बताउनु भयो ।

अस्पतालमा ल्याउने बितिकै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

मृतकको शव अहिले कोशी अस्पतालमा राखिएको छ ।

लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रवार यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै दिउँसो १ बजेतिर आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए ।

आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।

विद्यालय तनावग्रस्त बनेपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो ।

स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा तीन वटा मोटरसाइकल आगजनी गरेको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले निकाल्ने क्रममा आक्रोशित भीड प्रहरी माथि जाई लागेको थियो ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार घटनामा २९ प्रहरी र ७ आन्दोलकारी घाइते भएका छन् ।

घाइतेहरुकोको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीसहित समेत घाइते भहुनु भएको थियो । उहाँको छाती र हातमा चोट लागेको छ । आन्दोलन कारीले हानेको ढुङ्गा लागेर उहाँ घाइते हुनु भएको हो ।

प्रदर्शनकारीहरूले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल समेत जलाइ दिएका थिए ।

Back to top button