
विराटनगर । चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिगका लागि विराटनगर महानगरको फुटबल टोलीलाई बिदाइ गरिएको छ।
आज महानगरको सभाहलमा आयोजित कार्यक्रममा मेयर भीम पराजुलीले टोलीलाई बिदाइ गर्दै सुखद नतिजा दिनेमा विश्वस्त रहेको बताउनुभयो।
विराटनगरको टोलीको नाममा अन्य टोली सशंकित हुने गरी खेलाडीलाई आत्मविश्वास र आत्मबलका साथ मैदानमा उत्रिन उहाँले आग्रह गर्नुभयो।
महानगरले महिला फुटबललाई विशेष चासो र ग्राह्यता दिँदै आएको उहाँको भनाइ छ। मेयर पराजुलीले टोलीले उपाधि हासिल गरे विशेष पुरस्कारको व्यवस्था गरिएको आश्वासन दिनुभयो । टोली व्यवस्थापक उद्धव अर्यालले दुई स्थानमा हुने लिगमा महानगरको टोली आफ्नो वरियतालाई सुधार्नेतर्फ लक्षित रहने बताउनुभयो।
उहाँले कल्पना कार्कीको कप्तानीमा रहने टोलीमा यसपटक ४ जना भारतीय महिला खेलाडीको साथ रहने जानकारी दिनुभयो। जसमा दार्जिलिङकी प्रिया तामाङ, झारखण्डकी आशाकुमारी, शिवानी तोप्को र मीना खातुन हुनुहुन्छ । तामाङ हाल महानगर टोलीमा रहे पनि बाँकी खेलाडी खेलको एकदिनअघि टोलीमा समावेश हुने व्यवस्थापक अर्यालले बताउनुभयो ।
टोलीकी कप्तान कार्कीले लिगमा सबै महिला खेलाडीले शतप्रतिशत नतिजा दिने बताउनुभयो। विगतको नतिजाबाट पाठ सिकेर टोली नयाँ तरिकाबाट मैदानमा उत्रने उहाँले सुनाउनुभयो ।
महानगरले टोलीलाई गएको २ महिनाबाट बन्द प्रशिक्षणमा राखेको थियो। टोलीले चैत ११ गते पहिलो खेल नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ।
बिदाइ कार्यक्रममा खेलाडी तथा अफिसियल उपस्थित भए पनि मुख्य प्रशिक्षक पारस चौधरी अनुपस्थित हुनुहुन्थ्या । टोलीले पहिलो उपमेयर कपको उपाधि चुमेको थियो। त्यसपछि सो प्रतियोगिता राष्ट्रिय महिला लिगमा रुपान्तरण भएपछि टोली अन्तिम पाँचौँ स्थानमा खुम्चिएको थियो।
गत संस्करणमा टोलीबाट खेलेका कुसुम खतिवडा र खुश्बु राई त्रिभुवन आर्मीबाट खेल्ने हुनुभएको छ । त्यसैगरी सरिता शेर्पा वैवाहिक बन्धनमा बाँधिएपछि टोली बाहिर हुनुहुन्छ । लिगमा महानगरसहित तीन विभागीय टोली, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहनेछ। लिग विजेताले २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ।
त्यसैगरी दोस्रो हुनेले १० लाख, तेस्रो स्थानमा रहने टोलीले ५ लाख रुपैयाँ जित्नेछन्। राष्ट्रिय लिगअन्तर्गत पहिलो चरणको खेल चितवनमा र दोस्रो चरणको खेल विराटनगरमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।