
चीनमा १३२ जना यात्रु बोकेको चाइना इस्टर्नको बोइङ ७३७ विमान दुर्घटना भएको छ। गुआङ्सी झुवाङ स्वायत्त क्षेत्रको पहाडी क्षेत्रमा विमान दुर्घटना भएको र आगोको मुस्लो देखिएको चीनको नागरिक उड्डयन प्रशासनले जनाएको छ।
विमानमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार रहेको बताइएको छ । कुन्मिङबाट ग्वान्झाउको लागी उडान भरेको उडान नम्बर एमयु ५७३५ विमानले अवतरण अघि गति गुमाएको प्रारम्भिक रिपोर्ट देखिएको समाचारमा उल्लेख छ।
दक्षिण–पश्चिम चीनको युनान प्रान्तको कुनमिङ चाङसुई विमानस्थलबाट १ बजेर १५ मिनेटमा उडेको विमान ३ बजेर ७ मिनेटमा दक्षिण चीनको गुआङडोङ प्रान्तको ग्वान्झाउ पुग्ने कार्यक्रम थियो ।
हाल दुर्घटना स्थलमा उद्धार टोली खटिएका र थप विवरण आउन बाँकी रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।