लेटाङ घटनामा संलग्न भएको आशंकामा ९ जना पक्राउ,कर्फ्यू जारी

विराटनगर । आइतवार साँझ एक प्रहरीको ज्यान जाने गरी भएको मोरङको लेटाङ घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९ जनालाई नियन्त्रमा लिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार सोमवार कर्फ्यू उल्लङ्घन गर्ने १२ जनालाई नियन्त्रणमा लिइएको छ ।

सोमवार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू जारी गरेको थियो । अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो ।

छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कालोमोसो दलेर गाउँ घुमाउने माग राख्दै स्थानीय तथा विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

गाउँमै घटना मिलाउनका लागि प्रयास गरिएपछि भिड बढ्दै जाँदा आन्दोलनले उग्र रूप लिएको थियो ।
जनप्रतिनिधिहरू सहित बसेर घटना मिलाउन खोज्दा महिला प्रहरीको ज्यान गएको पूर्व वडा अध्यक्ष समेत रहेका वीर बहादुर तामाङ बताउँनुहुन्छ ।

भिड अनियन्त्रित हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । आरोपित शिक्षकलाई पक्राउ गरेर प्रहरीले लगेपछि घटना स्थलमा रहेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए ।

आक्रमणमा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका थिए ।

प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले सोमवार घटना स्थलको स्थलगत जानकारी लिएको छ ।

Back to top button