मन्त्रिपरिषद् हेरफेर हुनसक्ने सम्भावना छ, हामी हैसियतअनुसारकै लिन्छौँ : प्रचण्ड

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर हुनसक्ने बताउनुभएको छ । धनुषाको जनकपुरमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले केही मन्त्रालयको जिम्मेवारी फेरिने बताउनुभएको हो ।

‘मन्त्रिपरिषद् हेरफेरको कुरा चलेको छ। औपचारिक ढंगले टुंगिएको छ‚ सम्भावना छ‚’ उहाँले भन्नुभयो‚ ‘केही मन्त्रालय हेरफेर भई केही नयाँ आउने सम्भावना पनि छ।’

अध्यक्ष प्रचण्डले गठबन्धनका लागि माओवादी केन्द्रले ठूलो त्याग गरेकाले अब हुने मन्त्रिपरिषद् हैसियत अनुसारकै चाहिने दाबी गर्नुभएको छ । ‘प्रधानमन्त्रीजीले उहाँको महाधिवेशनको बेलामा र माधवजीले नयाँ पार्टी भनेर सहयोग गरेका हौँ।

प्रधानमन्त्री बनाउने काम अरुलाई सहयोग गर्ने पनि माओवादीले नै गर्छ‚’ उहाँले भन्नुभयो‚ ‘अहिले मन्त्रिपरिषद् हेरफेर भयो भने हाम्रो हैसियतअनुसार चाहिन्छ भनेका छौँ। प्रधानमन्त्री पनि सहमत हुनुहुन्छ।’

यस्तै‚ उहाँले गठबन्धन र सरकारमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी हुनेबारे कुनै निर्णय नभएको प्रष्ट पार्नुभयो।

‘गठबन्धनभित्र लोसपाको विषयमा छलफल भएको छैन‚’ उहाँले भन्नुभयो‚ ‘तर, लोसपाका नेताहरूसँगको भेटवार्तालाई प्रधानमन्त्रीजीले जानकारी गराइराख्नुभएको छ। गठबन्धनको बैठकमा सरकारमा सहभागिताको पनि कुनै कुरा भएको छैन।’

उहाँले गठबन्धनमा नेतृत्व तहमा कुनै तिक्तता नभएको बताउनुभयो। ‘माओवादी चुनाव नजित्ने भएर गठबन्धन गर्नुपर्छ भनेर लागेको होइन‚’ उहाँले भन्नुभयो‚ ‘माओवादी आफ्नै खुट्टामा उभिएर चुनाव जित्नसक्ने अवस्था छ। गठबन्धन चुनावका लागि थिएन। लोकतन्त्र संविधानको रक्षाको लागि बनेको हो।’

Back to top button