
काठमाडौं । दोस्रो विश्वयुद्धमा नाजी हलकस्टबाट बाँच्नुभएका एक युक्रेनी नागरिकको खार्किभमा रुसी सैनिकले चलाएको गोली लागेर मृत्यु भएको छ।
९६ वर्षीय बोरिस रोमाट्सचेनलाई उहाँकै अपार्टमेन्टमा रुसी सैनिकद्वारा चलाइएको गोली लागेको आफन्तले बताएका छन्।
उहाँ ‘बुकनबाल्ड एण्ड मिटनबाल्ड डोरा मेमोरियल फाउनडेशन’ सँग आवद्ध हुनुहुन्थ्यो। उहाँको मृत्युको खबर असाध्यै मार्मिक रहेको फाउनडेशनले जनाएको छ।
उहाँको मृत्यु रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली नागरिकलाई युक्रेनमा ‘नाजी निर्मूल पार्ने’ बताएको तीन सातापछि भएको हो।
बोरिसको जन्म सन् १९२६ को जनावरी २० मा भएको थियो। सन् १९४२ मा सोभियत संघलाई पराजित गरी आएका जर्मनीका नाजी सेनाले उहाँलाई जबरजस्ती कडा श्रममा लगाएको थियो।
सन् १९४३ मा उहाँको भाग्ने प्रयास विफल भएपछि जबरजस्ती कन्सन्ट्रेसन क्याम्पमा राखिएको थियो। यो क्याम्पमा सन् १९४५ को युद्ध समाप्ती घोषणा अघि ५६ हजार ५ सय ४५ जनाले ज्यान गुमाएका थिए।
सन् १९४१ देखि १९४५ सम्म नाजी शासकले यूरोपमा ६० लाख यहुदीको हत्या गरेका थिए। उहाँ यो आक्रमणबाट जोगिए पनि रुसी हमलाबाट भने जोगिन सक्नुभएन ।
रुसका सैनिकहरुले खार्किभमा निर्दयी तरिकाले निरन्तर गोलाबारी गरिरहेका छन्। यो आक्रमणम ५०० युक्रेनी नागरिकको मृत्यु भईसकेको युक्रेनले जनाएको छ।