
विराटनगर । मोरङको लेटाङमा सोमवार देखि लगाइएको कर्फ्यू केहि खुकुलो बनाइएको छ ।
मंगलवार जिल्ला सुरक्षा समितिको बैठक बसेर खुकुलो बनाएको हो । बिहान १० बजे देखि ४ बजे सम्म र साँझ ६ बजे देखी बिहान ६ बजे सम्म कर्फ्यू लगाउने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी काषिराज दाहालले बताउनु भयो ।
लेटाङ नगरपालिकाले सर्वदलिय बैठक राखेर कर्फ्यू खुकुलो बनाउन सहजिकरण गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्याल मोरङलाई पत्र पठाएको थियो ।
आइतवार साँझ एक प्रहरीको ज्यान जाने गरी भएको आन्दोलन पछि कफ्र्यू लगाइएको थियो । सोमवार बिहान ७ बजे देखि अर्को निर्णय नहुनजेल सम्मका लागि भन्दै लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू जारी गरेको थियो ।
छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कालोमोसो दलेर गाउँ घुमाउने माग राख्दै स्थानीय तथा विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।
गाउँमै घटना मिलाउनका लागि प्रयास गरिएपछि भिड बढ्दै जाँदा आन्दोलनले उग्ररूप लिएको थियो ।
भिड अनियन्त्रित हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । आरोपित शिक्षकलाई पक्राउ गरेर प्रहरीले लगेपछि घटना स्थलमा रहेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए । आक्रमणमा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका थिए ।