
काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको लागि सात वटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सबै प्रदेशका १५ जिल्लामा आजदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया गरिने तयारी गरिएको हो ।
उहाँकाअनुसार पहिलो चरणमा सात वटै प्रदेशका केन्द्र र केन्द्रसँग जोडिएका १५ जिल्लामा अन्तरक्रिया हुनेछ । त्यसपछि अन्य जिल्लामा पनि अन्तरक्रिया गरिने छ ।
यस्तै बैशाख ३० गते तोकिएको स्थानिय तहको चुनावका लागि आयोगले निर्वाचन अधिकृतहरुलाई पनि तालिम दिने तयारी गरिरहेको छ । मतदाता नामावाली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जनाउँदै आयोगले १४ गतेसम्म मतदाताको नामावली प्रकाशित गर्ने तयारी छ । यसैबीच मतपत्र छपाइका लागि कागज आइसकेको आयोगले जनाएको छ ।