चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउनु अघि भारत जाने

काठमाडौं । तीन दिने औपचारिक भ्रमणका लागि चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा यीले द्वीपक्षीय औपचारिक वार्तासँगै महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने जनाइएको छ ।

चिनियाँ विदेश मन्त्री नेपाल आउनुभन्दा अघि भारतमा जाने कार्यक्रम तय गरीएको छ । । हिन्दुस्तान टाइम्सले उहाँ बिहीबार नयाँदिल्ली आइपुग्ने शुक्रबार त्यहीँबाट काठमाडौं आउने समाचार प्रकाशन गरेको छ।

भारत र चीन दुबै देशले वाङ यीको भ्रमणबारे औपचारिक जानकारी दिएका छैनन्। नयाँदिल्लीमा हुँदा वाङले भारतीय समकक्षी एस जयशंकरसँग भेट्ने तय भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उहाँको भेट हुने नहुने टुंगो भएको छैन। २०७७ असारमा गल्वानमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो। उक्त झडपमा २० भारतीय र ४ चिनियाँ सैनिक मारिएका थिए। त्यसपछि यी दुबै देशबीच सीमामा तनाव जारी छ।

सीमामा तनाव जारी भएका बेला दुबै देशबाट राजनीतिक भ्रमणहरू भएका थिएनन्। गल्वान भीडन्तपछि पहिलो पटक चिनियाँ विदेश मन्त्री दिल्ली आउन लाग्नु भएको हो । यसअघि भारतीय प्रधानमन्त्री मोदीले चीनमा सोमबार भएको चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा दुस्ख व्यक्त गर्नु भएको थियो ।

विदेशमन्त्री वाङ यीको भ्रमणले दुई देशको सम्बन्ध सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम रहेको छ ।

उहाँ आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

Back to top button