नायक शाहको बयान सकियो, आरोप अझै अस्वीकार

काठमाडौं । बलात्कार मुद्दामा पक्राउ पर्नुभएका नायक पल शाहको बयान सकिएको छ। अहिले उहाँका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिरहनुभएको छ ।

शाहका म्यानेजर जोशीको बयान अहिले भइरहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शाहको बयान हिजो नै सकिएको हो। अहिले उहाँका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान गरेका छौं।’

शाहले बयानका क्रममा आफूमाथि लागेको आरोप सत्य नभएको बताउनुभएको छ । ‘बयानका क्रममा उहाँ (पल शाह)ले आफूले करणी गरेको भनेर स्वीकार्नु भएको छैन’ स्रेस्तेदार कुँवरले भन्नुभयो, ‘दुवै जनाको बयान सकिएपछि बाँकी प्रकियामा जान्छौं।’

सरकारी वकिल कार्यालय तनहुँले हिजो अदालतमा दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। नाबालिकाले आफूलाई करणी गरेको भन्दै फागुन ११ गते तनहुँ प्रहरीमा किटाने जाहेरी दिएकी थिइन्। प्रहरीले १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको आरोपमा शाहलाई फागुन १५ गते पक्राउ गरेको हो। नाबालिकाले गैंडाकोट प्रहरीमा समेत शाहले सुटिङका क्रममा करणी गरेको भनी जाहेरी दर्ता गरेकी थिइन्।

शाहले भने प्रहरीको अनुसन्धानमा पनि करणी गरेको स्वीकार गर्नुभएको छैन। शाहले घटना भएको दिन किशोरीसँग एउटै घरमा बसेको र राति १२ बजेतिर किशोरीको कोठामा बियरको बोतल लिएर पुगे पनि करणी नगरी फर्किएको दावी गर्दै आउनुभएको छ । तर पीडित किशोरीले भने सोही समयमा करणी भएको बताएकी छिन्।

दुई प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ।

पल प्रकरणमा उहाँका म्यानेजर कृष्णप्रसाद जोशी पनि घटना लुकाउने भूमिकामा देखिनुभएको छ । उहाँविरुद्ध शाहको आधा सजाय माग गर्दै हिजो अदालतमा मुद्दा दर्ता गरिएको छ। शाहलाई खोजी गर्दैगर्दा सामाजिक सञ्जालमा जथाभावी बोल्न थालेपछि उहाँ पनि प्रहरीको अनुसन्धानमा तानिनुभएको हो ।

Back to top button