एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमै आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा

काठमाडौं । एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ।

बैंकले २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एसिया मोबाइल बैंकिङ प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन्।

मोबाइल बैंकिङमार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने सुविधाबाट बैंकका ग्राहकहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने बैंकले जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट आफ्नो मोबाइल बैंकिङबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्। यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको मोबाइल एपभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनोट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्ने बैंकले बताएको छ।

बैंकका अनुसार यस माध्यमबाट पठाइएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ। बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम मोबाइल बैंकिङबाट सहजै बुझ्न सकिने नवीन सुविधासमेत यस एपमा रहेको बैंकले जनाएको छ।

यसका लागि ग्राहकहरूले मोबाइल बैंकिङ एपभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्नेछन्।

बैंकले मुलुकभर ३ सय ५८ शाखा कार्यालय, ४ सय ७३ एटीएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Back to top button