केन्द्रमा सरकार बनाए पनि स्थानीय तहमा बहुमत हासिल गरेनौ भने स्थिति सहज हुन्नः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिनुभएको छ ।

आज काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा जितनै पर्ने बताउनुभएको हो ।

द्वन्द्व र हिंसाबाट गुज्रिएको मुलुकमा दिगो शान्ति स्थापना तथा सुशासन र भ्रष्टाचारमुक्त गरी देशलाई समृद्ध नेपाल सुखी नेपालीसम्म पुर्‍याउने अभिभारा पूरा गर्न बहुसंख्याको अभिमतबाट स्थानीय तहको निर्वाचन जित्नुपर्ने तर्क उहाँको थियो।

उहाँले भ्रमपूर्ण, सत्तापक्षीय र जनविरोधी प्रचारहरु भएको दाबी गर्दै त्यसविरुद्ध बहुसंख्याको अभिमत प्राप्त गरी स्थानीय तहको निर्वाचनबाट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौँ। मुल धार हौँ। इतिहासको लोकतान्त्रिक आन्दोलनको विरासत हामीसँग छ। आजको समस्या र चुनौतीको सामना र समाधान गर्नुपर्ने उत्तरदायित्व हामीसँग छ। त्यो अभिभारा हामीसँग छ। देशलाई समृद्ध नेपाल सुखी नेपालीसम्म पुर्‍याउने अभिभारा हामीसँग छ। जसलाई हामीले सम्पन्न गर्नु पर्नेछ। त्यो अभिभारा हामी जनताको बहुसंख्याको अभिमतद्वारा बल र अधिकार प्राप्त गर्दछौँ। यसका लागि स्वभाविक रुपमा आगामी निर्वाचनहरु महत्वपूर्ण छन्। त्यसका लागि केन्द्रमा बहुमतको सरकार बनेपछि पनि विकास केन्द्रीय केही आयोजनाबाहेक जनताको घरदैलोमा पुर्‍याउने स्थानीय तह हो। त्यसकारण स्थानीय तहको निर्वाचनमा हामीले महत्वपूर्ण ठाउँहरुमा र आम रुपमा बहुमत साथको विजय हासिल गर्न सकेनौँ भने हामीले बहुमत प्राप्त गर्दा पनि सहज नहुने स्थिति हुन्छ। त्यसकारण हामीले यसमा बहुमत प्राप्त गर्नुपर्नेछ।’

उहाँले नेकपा एमालेको नेतृत्वमा सम्पूर्ण लोकतान्त्रिक आन्दोलन भएको र सबैभन्दा ठूलो प्रमुख राजनीतिक पार्टी भएको दाबी पनि गर्नुभयो।

केन्द्रीय कमिटि बैठकले स्थानीय तहको निर्वाचन सफलतापूर्वक समपन्न गराउन संगठनात्मक र प्रचारात्मक कार्यक्रम तथा जनपरिचालन सम्बन्धी महत्वपूर्ण निर्णय गर्नेछ।

त्यसैगरी भोलिको बैठकमा निर्वाचन केन्द्रीत गरेर बनाइएको पार्टीको एपबारे केन्द्रीय कमिटी सदस्यलाई जानकारी गराउने पनि अध्यक्ष ओलीले जानकारी दिनुभयो। उहाँले नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेसँगै सदस्यता सख्या ११ लाख पुगेको आँकलन गरिएको दाबी पनि गर्नुभयो।

Back to top button