ओलीले संविधान मिचेका कारण सरकारबाट बाहिरिनुपर्‍यो : मन्त्री बडू

काठमाडौं । कानुन न्याय तथा संसदीय व्‍यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्वप्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताउनुभयो।

देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको बताउनुभयो। मन्त्री बडूले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताउनुभयो ।

संविधानको व्‍यवस्था र मर्मविपरित जान खोज्ने सबैको ओली नेतृत्वको सरकारको जस्तै अवस्था हुने मन्त्री बडूले बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताउनुभयो। रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने बताउनुभयो।

२०६२/६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडूले सरकार सामुदायिक रेडियोहरुको विकासका लागि सधैँ सकारात्मक र प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

उहाँले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको बताउनुभयो।

Back to top button