२० दशमलव ३४ अंकले घट्‍यो नेप्से परिसूचक

काठमाडौं । दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचक आज घटेको छ। आज नेप्से परिसूचक २० दशमलव ३४ अंक घटेर २ हजार ६३० दशमलव ३६ विन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव २२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ५६ अंकले घटेको छ। आज कारोबारमा आएका २ सय २६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

हिजोको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ। हिजो २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार उपसमूहको परिसूचक ० दशमलव ५० प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ० दशमलव २५ प्रतिशत बढेको छ।

तर, यता विकास बैंक, वित्त, जलविद्युत, अन्य र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि दुईवटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

कारोबार रकमका आधारमा आजको दिन करिब साढे ८ करोडको शेयर खरिदबिक्री गरेर एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, जीवन विकास लघुवित्तको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

Back to top button