लेटाङमा भोलि बिहान देखी कर्फ्यू हट्ने

विराटनगर । लेटाङमा सोमवारदेखि लगाइएको कर्फ्यू बिहीवारदेखि हटाइने भएको छ ।

बुधवार जिल्ला सुरक्षा समितिको बैठक बसेर कर्फ्यू बिहीवार बिहान ६ बजेदेखि हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी(सीडीओ)काशिराज दाहालले बताए । मंगलवार कर्फ्यू खुकुलो बनाउने निर्णय गरिएको थियो । अवस्था सामान्य बन्दै गएकाले कर्फ्यू हटाउने निर्णय गरिएको सीडीओ दाहालले बताउनुभयो।

आइतवार साँझ महिला प्रहरीको ज्यान जाने गरी भएको आन्दोलनपछि कर्फ्यू लगाइएको थियो । सोमवार बिहान ७ बजेदेखि अर्को निर्णय नहुञ्जेलसम्मका लागि भन्दै लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको थियो ।

छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कालोमोसो दलेर गाउँ घुमाउने माग राख्दै स्थानीय तथा विद्यार्थीले आन्दोलन गरेपछि विवाद चर्किएको हो । गाउँमै घटना मिलाउनका लागि प्रयास गरिएपछि भीड बढ्दै जाँदा आन्दोलनले उग्ररूप लिएको थियो ।

भीड अनियन्त्रित हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । आरोपी शिक्षकलाई पक्राउ गरेर प्रहरीले लगेपछि घटनास्थलमा रहेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए । आक्रमणमा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका थिए ।

Back to top button