
दमक । बागमती युथ क्लब सर्लाही झापाको दमकमा जारी दमक गोल्डकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा जारी प्रतियोगिताको हिजोको खेलमा बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे ।
बागमतीका जोमाउलमाथि डिबक्समा फल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । घरेलु दर्शकको अपार साथ पाएपनि दमकले स्कोर निकाल्न सकेन ।
हिजोको खेलको म्यान अफ द म्याच बागमतीका गोलरक्षक मनोज प्रधान घोषित हुँदै नगद दश हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा चारवटा विदेशी टोलीसहित दश टोलीको सहभागिता छ ।
आजको खेल दुर्गापुर सन्डे कोलकाता र गोर्खा ब्वाईज रुपन्देहीबीच हुने आयोजक दमक नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागाईंले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने खेल संयोजक मोहन मगरले जानकारी दिनुभयो ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने छन् । १८ गतेसम्म चल्ने प्रतियोगिताको समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।