
विराटनगर । मोरङको लेटाङ पाँच दिन पछि सामान्य अवस्थामा फर्कन थालेको छ । सोमवारदेखि लगाइएको कर्फ्यू आज बिहानदेखि हटाएपछि जनजीवन सामान्य तर्फ उन्मुख भएको हो ।
पाँच दिन देखि बन्द रहेका होटल, पसल बिहानै देखि खुल्न थालेको र मानिसहरुको चहलपहल बढ्न थालेको लेटाङ नगरपालिकाका मेयर शंकर राईले बताउनुभयो ।
विद्यालय सञ्चालन गर्नका लागि सर्वदलीय बैठक राखेर छलफल अगाडि बढाइएको राईले बताउनुभयो । विद्यालयमा भएको भौतिक क्षतिका लागि नगरपालिकाले सहयोग गर्ने समेत उहाँले बताउनुभयो ।
आइतवार साँझ महिला प्रहरीको ज्यान जाने गरी भएको आन्दोलनपछि कर्फ्यू लगाइएको थियो । सोमवार बिहान ७ बजेदेखि अर्काे निर्णय नहुन्जेलसम्मका लागि भन्दै लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको थियो ।
हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाउने निर्णय गरेको हो । छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेपछि भएको छलफलका क्रममा विवाद चर्किदै जाँदा भएको घटना हिंसात्मक बन्न पुगेको हो ।
त्यस घटनामा दर्जनौं ब्यक्ति घाइते हुन पुगे भने एक महिला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या हुन पुग्यो । आरोपित शिक्षकलाई पक्राउ गरेर प्रहरीले लगेपछि घटनास्थलमा रहेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए ।