नेपालले आज थाईल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । एसिया कप छनोटको तयारीमा रहेको नेपालले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग खेल्दैछ। थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन्। सोही प्रतियोगितालाई मध्येनजर गर्दै मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्याण्डविरुद्धको खेलले एसियन कपको तेस्रो चरणमा निकै मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

मैत्रिपूर्ण खेल अघिको प्रि म्याच कन्फरेन्समा उहाँले यो खेलबाट एसियन कप छनोटको तयारीमा निकै मद्दत पुग्ने बताउनुभएको छ । आफुले नेपाली टोलीको प्रशिक्षण सम्हालेयता थाइल्याण्ड आएको पहिलो पटक हो भन्दै उहाँले यो यात्राबाट आफु सन्तुष्ट रहेको समेत बताउनुभएको छ ।

नेपाल तेस्रो चरणको लागि समूह ए मा छ। जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन्। थाइल्यान्ड भने समूह सी मा छ। जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन्।

फिफा वरियता र तुलनात्मक रुपमा बलियो थाइल्याण्डविरुद्ध नेपाल किरणकुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ। हाल थाइल्यान्ड फिफा वरियताको ११२औँ स्थानमा छ भने नेपाल १६७औँ स्थानमा छ।

Back to top button