कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा गत मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ। त्यसबारे जानकारी दिन आज दिउँसो १ बजे विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो।

रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकतर्फको आपूर्ति कटौती गरेको हो । हिजो भारतबाट करिब १ घण्टा मात्रै बिजुली आएकोमा आज पनि उद्योगलाई ३ घण्टा मात्रै विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ।

वर्षायाममा नेपालभित्रै उत्पादित बिजुली खेर जाने भए पनि सुक्खायाममा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । अहिले भारतमा बिजुली निकै महँगिएको र नेपालले कबोलेको रकमभन्दा बढी मूल्य पुगेपछि हिजो पर्याप्त बिजुली नपाएको घिसिङले जानकारी दिनुभयो।

महँगोमा बिजुली खरिद गर्नुपर्ने अवस्थाकै बाबजुद पनि हामी आज रातिबाट उद्योगहरूलाई बिजुली उपलब्ध गराउँछौं,’ उनले भने, ‘ठूला उद्योगीहरू समस्यामा छन् तर घरायसी र अरू उपभोक्ताका लागि बिजुली कटौती गरिएको छैन।’

भारतबाट महँगोमा बिजुली किनेर सस्तोमा बेच्नुपर्ने अवस्था अझै केही समय रहिरहे प्राधिकरण गम्भीर संकटमा पर्ने उहाँको भनाइ छ। यसबारे थप जानकारी दिन आज पत्रकार सम्मेलन गर्न लागिएको घिसिङको भनाइ छ।

Back to top button