
काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने हुनुभएको छ ।
प्रधानमन्त्री देउवा चैत १८ गते जाने र २० गते स्वदेश फर्किने एक वरिष्ठ सरकारी अधिकारीले बताउनुभयो । तालिकाअनुसार देउवा १८ गते दिल्ली जाने, १९ गते भारतीय समकक्षी मोदीलगायतका भारतीय नेतासँग वार्ता गर्ने र २० गते स्वदेश फर्कनुहुने छ ।
भ्रमणका लागि परराष्ट्र मन्त्रलायले तयारी थाले पनि मिति तय भइनसकेको प्रवक्ता सेवा लम्सालले बताउनुभयो । ‘उच्चस्तरीय भ्रमणको तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले समय भने तय भइसकेको छैन।’
चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपाल भ्रमणलगत्तै देउवा भारत जान लाग्नुभएको हो । भारतमा रहँदा नेपाल र भारत सीमापार व्यापार र रेलमार्गलगायतका विषयमा सम्झौता हुने सम्भावना रहेको जनाइएको छ।
गत साउनमा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। देउवा गत जनवरीमा गुजरातमा हुने व्यापार सम्मेलनमा सहभागी हुन भारत जाने कार्यक्रम थियो। तर‚ कोभिड–१९ को संक्रमण बढ्दै गएपछि सम्मेलन स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो।
देउवा र मोदीबीच गत वर्ष नोभेम्बरमा स्कटल्याण्डको ग्लासगोमा राष्ट्रसंघीय जलवायु सम्मेलनमा भेट भएको थियो।
भारत भ्रमण रहने भएकाले प्रधानमन्त्री देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुनुहुने छैन। बिमस्टेक सम्मेलन श्रीलंकामा आगामी मार्च ३० गते सुरु हुँदैछ।
प्रधानमन्त्री देउवा श्रीलंका नजानुको कारण भारत भ्रमणको योजना रहेको बताइएको छ। बिमस्टेक सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का सहभागी हुने जनाइएको छ।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन मोदी कोलम्बो जाने वा नजानेबारे टुंगो भएको छैन। इजरायली प्रधानमन्त्री नफ्ताली बेनेटले अप्रिल ३–५ मा भारतको भ्रमणमा आउने कार्यतालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।